Friday, August 9, 2013

कम्पनीको सेयर किन्दा ध्यान दिनुपर्ने विषय



खुद मुनाफा 
खुद मुनाफा (Net Profit) कम्पनीहरुको परफरमेन्स नाप्ने मुख्य सूचक हो । कम्पनीले गरेको आम्दानीबाट विभिन्न खर्च र अन्त्यमा सरकारलाई करसमेत तिरेपछि बाँकी रहेको रकम खुद मुनाफा हो । यही रकमबाट सेयरधनीलाई लाभांश वितरण गरिन्छ । बढी मुनाफा गरेको कम्पनीले नै बढी लाभांश दिने सम्भावना हुन्छ ।
प्रतिसेयर आम्दानी 
खुद मुनाफा बढी हुँदैमा कम्पनीले बढी प्रतिफल दिन्छ भन्न सकिंदैन । त्यसैले कम्पनीको चुक्ता पुँजी र नाफाको अनुपात हेर्नुपर्छ । कम्पनीको सेयर कित्ता संख्याले कम्पनीले एक आर्थिक वर्षमा गरेको खुद मुनाफालाई भाग गरेर प्रतिसेयर आम्दानी (EPS) निकालिन्छ ।
१ करोड चुक्ता पुँजी भएको कम्पनीले १ करोड खुद मुनाफा गर्नु र ५ करोड रुपैयाँ चुक्ता पुँजी भएको २ करोड खुद मुनाफा गर्नुमा सेयरधनीका लागि १ करोड नाफा गर्ने कम्पनी उपयुक्त हुन्छ । १ करोड नाफा गर्ने कम्पनीको प्रतिसेयर आम्दानी १०० प्रतिशत हुन्छ भने २ करोड नाफा गर्ने कम्पनीको प्रतिसेयर आम्दानी ४० प्रतिशत मात्र हुन्छ ।
खुद सम्पत्ति 
प्रतिसेयर आम्दानीले कम्पनीको सोही वर्षको स्थिति मात्र जानकारी दिन्छ । कम्पनीमा सेयरधनीले गरेको लगानी अर्थात चुक्तापुँजी र कम्पनीले हरेक वर्ष नाफा गर्दै बचत गरेको संचित रकमको जोडलाई कम्पनीको सेयर कित्ताले भाग गरेपछि प्रतिसेयर खुद सम्पत्ति वा सेयरको किताबी मूल्य (Net worth per share) आउँछ ।
पछिल्लो एक आर्थिक वर्षमा थोरै प्रतिसेयर आम्दानी गरेको कम्पनी भए पनि यदि उसको प्रतिसेयर खुद सम्पत्ति उच्च छ भने सगम्रमा त्यो कम्पनी राम्रो छ भन्ने बुझ्न सकिन्छ । किताबी मूल्य बढी भएको कम्पनीले त्यो वर्ष कम नाफा गरे पनि अघिल्लो वर्षको नाफाबाट संचित गरेको रकम सेयरधनीलाई लाभांश दिन सक्छ ।
जगेडा कोष 
कम्पनीहरुले गरेको खुद मुनाफाबाट केही रकम सेयरधनीलाई लाभांश बाँड्छन् भने केही रकम कम्पनीमा भैपरी आउने खर्च गर्नको लागि जगेडा कोष (Reserve Fund) मा जम्मा गर्दछन् । जगेडा कोषमा रकम नभएको कम्पनी भोली नसोचेको ठाउँमा खर्च बढाउनुपर्दा समस्यामा पर्न सक्छ । तर, जगेडा कोषमा पर्याप्त रकम छ भने कम्पनीलाई भविष्यमा पैसा अभावको समस्या हुँदैन ।
जगेडा कोष बढेपछि प्रतिसेयर नेटवर्थ पनि बढ्दै जान्छ । यदि कम्पनी बन्द गरियो भने जगेडा कोषमा भएको रकम सेयरधनीले सेयरको अनुपातमा बाँडेर लिन सकिन्छ । पब्लिक कम्पनीहरुले तीन/तीन महिनामा प्रकाशन गर्ने वित्तीय विवरणमा उल्लेख गर्ने जगेडा कोषभित्र नदेखिने गरी विभिन्न उपशीर्षक लुकेका हुन्छन् । रिटेण्ड अर्निङ शीर्षकमा राखिएको रकम आगामी वर्षमा सेयरधनीलाई लाभांश बाँड्न सकिन्छ ।
मूल्य आम्दानी अनुपात
पर्याप्त नाफा गर्ने, नेटवर्थ उच्च भएको वा जगेडा कोष पर्याप्त भएको कम्पनीको सेयर किन्नु फाइदाजनक त हुन्छ । तर, त्यस्तो कम्पनीको सेयर जति महँगो भए पनि किन्नु फाइदाजनक हुँदैन । सेयर किन्दा कम्पनीले आगामी वर्ष दिनसक्ने लाभांशले सेयर किन्दा तिरेको रकम कति वर्षमा उठ्छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ ।
कम्पनीको सेयर मूल्यलाई एक आर्थिक वर्षको प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंक मूल्य आम्दानी अनुपात(PE Ratio) हो । यस्तो अनुपात १० भन्दा कम भएका कम्पनीको सेयर किन्दा डुब्ने सम्भावना न्यून हुन्छ भने २० भन्दा बढी भएका कम्पनीको सेयर किन्दा डुब्ने सम्भावना अधिक हुन्छ ।
कुनै पनि सम्पत्तिमा गरिएको लगानी त्यो सम्पत्तिबाट हुने आर्जनले कति वर्षमा पूर्ति गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मानौं, वाषिर्क ५० प्रतिशत लाभांश दिने कम्पनीको सेयर मूल्य १ हजार छ तर ३० प्रतिशत लाभांश दिने कम्पनीको मूल्य ५ सय छ भने दोस्रो कम्पनीको सेयर किन्नु बढी लाभदायक हुन्छ ।
सेयर मूल्य र प्रतिसेयर आम्दानीको अनुपातको साथै प्रतिसेयर किताबी मूल्यको अनुपात पनि महत्वपूर्ण हुन्छ । कुनै कम्पनीको एक आर्थिक वर्षमा आकस्मिक कारणले मुनाफा न्यून हुनसक्छ । त्यस्तो अवस्थामा पिई रेसियो उच्च देखिन सक्छ । यद्यपि त्यो कम्पनीले विगतमा राम्रै नाफा गर्दै आएको र अर्को आर्थिक वर्षमा पनि राम्रो नाफा गर्न सक्छ ।
नाफाको स्रोत
सामान्यतयाः खुद मुनाफा बढी गर्न सक्ने कम्पनी राम्रो मानिन्छ । तर, त्यो नाफाको स्रोत दिगो हो कि एक वर्षपछि नष्ट हुने हो भन्ने कुरामा ध्यान दिनुपर्छ । कम्पनीको सञ्चालन नाफा वा मूल बिजनेशबाट भएको नाफालाई दिगो मानिन्छ । कम्पनीको सम्पत्ति बेचेको रकम जोडेर नाफा गरेको रहेछ भने अर्को वर्ष त्यस्तो आम्दानी हुँदैन ।
त्यस्तै, पहिलेदेखि उठाउन बाँकी रहेको रकम त्यही वर्ष एकै पटक उठेर नाफा देखिएको छ भने दिगो नाफा हुँदैन । बैंकहरुको हकमा त्यो आर्थिक वर्षमा सञ्चालन मुनाफा नगरे पनि पहिलेदेखि फसेको ऋण त्यही वर्ष असुली भएर नाफा बढेको हुनसक्छ ।
जोखिम व्यवस्था 
कम्पनीकहरुको मुनाफामा सम्भावित जोखिम व्यवस्था (provision for possible losses) शीर्षक महत्वपूर्ण हुन्छ । सामान्यतया आउने निश्चित भएको रकमलाई कम्पनीको सम्पत्ति मानिन्छ । तर, कुनै सम्पत्ति उच्च जोखिममा पर्‍यो भने त्यसलाई सम्पत्तिमा गणना नगरेर त्यो बराबरको रकम सम्भावित जोखिम व्यवस्था गरिन्छ ।
यदि त्यो वर्ष कम्पनीले राम्रै सञ्चालन मुनाफा गरेको भए पनि प्रोभिजन गर्नुपर्‍यो भने प्रोभिजन रकम बराबर नाफा घट्न जान्छ । त्यस्तै, आगामी कुनै वर्ष यदि त्यो सम्पत्ति असुल भयो भने प्रोभिजनमा राखेको रकम नाफामा गणना हुन्छ । त्यसैले खुद मुनाफाको साथै सञ्चालन मुनाफा पनि हेर्नुपर्छ ।
एक वर्ष अपर्याप्त
एक आर्थिक वर्षको वित्तीय विवरण हेरेर कम्पनीको सेयर किन्ने वा नकिन्ने र कति मूल्यसम्ममा पाए किन्ने भनी सही निर्णयमा पुग्न गाह्रो हुन्छ । कम्तीमा तीन आर्थिक वर्षको वित्तीय विवरण हेर्ने हो भने खुद मुनाफा, प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात मात्र हेरेर सेयर किन्ने निर्णय गर्न सकिन्छ ।
एक आर्थिक वर्षको कुनै सूचक मात्र हेरेर निर्णय गर्दा गलत संकेत गर्न सक्छ । विगतदेखि कमजोर हुँदै आएको सूचक त्यो वर्षमात्रै सुध्रेको हुनसक्छ । यदि त्यस्तो हो भने अर्को वर्ष पुनः कमजोर हुने सम्भावना रहन्छ । यदि कम्पनीहरुले गलत विवरण नै बनाएका रहेछन् भने पनि लगातार तीन/चार वर्ष नियामक निकायलाई छलेर त्यस्तो गर्न सक्दैनन् ।
यसको साथै अखबारमा छापिने लेखापरीक्षण हुनुअघिको वित्तीय विवरणमा मात्रै पूरै भर नपरी कम्पनीहरुले लेखापीक्षणपछि प्रकाशन गर्ने वित्तीय प्रतिवेदनलाई पनि आधार लिनुपर्छ । विगतदेखि कम्पनीको लेखापरीक्षण प्रतिवेदन अध्ययन गर्दै आएका व्यक्तिलाई त्रैमासिक अपरिस्कृत विवरण कम्पनीको प्रवृत्ति बुझ्न उपयोगी हुन्छ ।

3 comments:

  1. I am sorry I do not understand "मानौं, वाषिर्क ५० प्रतिशत लाभांश दिने कम्पनीको सेयर मूल्य १ हजार छ तर ३० प्रतिशत लाभांश दिने कम्पनीको मूल्य ५ सय छ भने दोस्रो कम्पनीको सेयर किन्नु बढी लाभदायक हुन्छ ।"
    Would you mind explain me.
    Suppose: Invest 1 lakh each scripts.
    A): per share 1000.
    Bonus 50%
    Invest: 1000X100=100000
    next year afrte get Bonus: 1000X150=150000.(If rate is same 1000 per share)
    B). per share 500
    Bonus: 30%
    Invest: 500X200=100000.
    Next year after bonus get: 500X260=130000.

    Next year:
    A script value: 150000
    B script value: 130000.
    How invest in B script is worth full? It is my general thinking but please teach me in analysis way.

    ReplyDelete
  2. Replies
    1. It means in first case you will only get return of 50 by investing 1000. but in case you will get return of 30 by investing 500. if you invest 1000 in second case you will get return of 60. Its a simple calculation.

      Delete