Monday, April 15, 2013

राजनीतिक नेतृत्वलाई १२ प्रश्न !


अनिल शाह
मलाई अझै पनि हाम्रा मूख्य राजनीतिक दलहरुले समहतिको यात्राको शुरुवात गर्ने भनी हस्ताक्षर गरेको १२ बुँदे सम्झौताको दिनको सम्झना छ, जसले मुलुकले सहि दिशा लिने र मुलुकमा समानता र कामको अवसरको लागि उपयुत्तः बातावरण निर्माण गर्ने नयां संविधान जारी गर्नेछ भन्ने विश्वास जनमानसमा थियो ।
anil-saha-main१२ बुँदे समझदारीको केहि बर्ष र अरबौंं रुपैयाँको खर्चपछि आज हामीलाई नेतृत्व गर्ने दलहरुमा हामीले आपसी विश्वासको गहिरो संकट पाएका छौं । अहिलेको अवस्थामा मूख्य राजनीतिक दलका नेतृत्व वर्गले मित्रराष्ट्रका ८९ बषिर्य राष्ट्रपतिका सद्भावपूर्ण स्पन्दनको प्रयोग गरी असारबाट सारेर मंसिरमा चुनाव गर्न सकिने नसकिने अवस्था कस्तो रहन्छ भन्ने बुझ्न पनि आवश्यक भएको छ । १२ बुँदे सम्झौताबाट मुलुकको वर्तमान अवस्थासम्म हामीले के शिक्षा लियौं भन्दा पनि अब हामीले अग्रगामी दृष्टिकोण राखेर हेर्नु पर्छ भन्ने मेरो बुझाई हो । मलाई लाग्छ, हाम्रा नेतृत्व पंक्तिले पनि १२ बुँदे सम्झौतादेखि हालसम्मका उपलब्धिविहीन बर्षहरु पार गर्दा निकै शिक्षा लिएका छन ।
मलाई निर्वाचनको पूर्व सन्ध्यामा हामी ठीकठीक मुद्दाहरुलाई उठाउने तर्फ ध्यान केन्दि्रत गर्दै राजनीतिक नेतृत्व वर्गमा केही प्रश्नहरु राख्नु पर्छ भन्ने लाग्दछ, ता कि विगतका गल्तिहरु पुनः दोहोरिन नपाउन् । यद्यपी राजनीतिमा सक्रिय अधिकांशलाई अवको निर्वाचन २०७० को असारमा या मंसिरमा हुनेछ भन्ने महत्वपूर्ण सवाल हो भन्ने लाग्ला, तर यो हाम्रोलागि महत्वूर्ण प्रश्न होइन । हो, सकेसम्म छिटो स्वतन्त्र र निष्पक्ष निर्वाचन हाम्रो लागि महत्वपूर्ण छ तर, विगत बर्षहरुको अनुभवबाट मलाई नेपाली जनताहरु कुनै नेतालाई वा कुनै दलको चुनाव चिन्हलाई मात्रै हेरेर संविधान निर्माण र जनताको भावना र चाहनाको प्रतिनिधित्व हुने सरकार निर्माण गर्न मात्रै आफ्नो मतको प्रयोग गर्दैनन् जस्तो लाग्छ ।
म जस्तै मेरा नेपाली दाजुभाई दिदी बहिनीहरु सवैले आफ्नो मताधिकारको प्रयोग गर्नु अघि हामीलाई प्रतिनिधित्व गर्न चाहने राजनीतिक दल तथा दलका नेतृत्ववर्गबाट केही महत्वपूर्ण मुद्दाहरुमा स्पष्टता चाहेका छन् । यसै सन्दर्भमा संविधानसभाको निर्वाचनको मतदान गर्नु भन्दा अघि मुलुकका सवै राजनीतिक दलहरुबाट निम्नलिखित एकदर्जन मुद्दाहरुमा स्पष्ट जवाफ माग गर्नु जरुरी देखिन्छः
१. तपाईं कस्तो प्रकारको राजनीतिक संरचनालाई समर्थन गर्नु हुन्छ?
क. संघिय गणतन्त्र/ गणतन्त्र
ख. जनताको संघिय गणतन्त्र/ जनताको गणतन्त्र
ग. हिन्दु संघिय गणतन्त्र/ हिन्दु गणतन्त्र
घ. अन्य कुनै प्रकारको राजनीतिक संरचना
२. कस्तो प्रकारको विधायिकाको पक्षमा तपाई हुनुहुन्छ? कतिवटा विधायिका र कतिजना सांसदहरुको पक्षमा तपाईं हुनुहुन्छ ।
३. कस्तो प्रकारको सरकार प्रमूख तपाईं चाहनुहुन्छ ? संसदीय प्रधानमन्त्रिय पद्धती अथवा जनताबाट सिधै निर्वाचित सरकार या राष्ट्र प्रमूख अथवा राष्ट्रपति वा प्रधानमन्त्रिका विच शक्तिको बांडफांड गर्ने प्रकारको ?
४. तपाईं जातिय वा भौगोलिक आधारमा राज्यको सिमांकन हुनु पर्छ भन्ने अवधारणालाई समर्थन गर्नु हुन्छ?
५. तपाई हरेक राज्यमा कस्तो प्रकारको निर्वाचित विधायिका चाहनुहुन्छ? कति जना सदस्यहरु, मूख्यमन्त्रिहरु, राज्यमन्त्रि तथा मन्त्रिपरिषदका सदस्य तथा कस्तो कर्मचारीतन्त्र हुनु पर्छ भन्ने तपाईलाई लाग्छ ।
६. कर प्रणाली कस्तो हुनु पर्छ? विभिन्न राज्यहरुको विच सामानहरुको स्थानान्तरण वा विक्रीको व्यवस्थापनको लागि कस्तो प्रकारको संरचना तपाई प्रस्ताव गर्नु हुन्छ?
७. तपाइर्ं सामाजिक तथा आर्थिक दृष्टिबाट पिछडिएका वर्गहरुको उत्थानकोलागि आरक्षण वा कोटाको ब्यवस्थालाई प्रबर्द्धन गर्नु हुन्छ?
८. नेपाली नागरिकहरुको आधारभूत मानवअधिकारको संरक्षण तथा अपराधिलाई संरक्षण दिने दण्डहिनताको ब्यवस्थाको अन्त्य गर्न लागि तपाईंले कस्तो ब्यवस्था अपनाउनुहुन्छ?
९. तपाईं राज्य र ब्यक्तिविरुद्धका अपराधहरु जस्तै जबर्जस्ती करणी, हत्या, मानव वेचविखन, आतंकबाद भ्रष्टाचार जस्ता अपराधमा संलग्न अपराधिको सजायको लागि मृत्युदण्डको पक्षमा हुनुहुन्छ?
१०.तपाई राज्यको कस्तो आर्थिक संरचनाको पक्षमा हुनुहुन्छ? स्वतन्त्र बजारको पक्षधर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने आर्थिक संरचना, सरकारी नियन्त्रणमा रहने अर्थ ब्यवस्था वा मिश्रीत अर्थ ब्यवस्था।
११. मुलुकको प्राकृतिक स्रोत जलश्रोत, सिमेन्ट, खनिज पदार्थ आदीको विकास र परिचालनको लागि कस्तो प्रकारको ब्यवस्थाको पक्षमा हुनुहुन्छ? निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने, सरकारले संचालन गर्ने वा मिश्रति ।
१२. निजी सम्पत्तिको सुरक्षाको लागि यहांको दृष्टिकोण के छ? कुनै हदबन्दि लगाइ सम्पत्ती स्थानान्तरणको लागि मौका दिनु पर्छ वा राज्यले हदबन्दि लगाई हदभन्दा माथिको सम्पत्तिलाई जफत गर्नु पर्छ ?
अहिलेको परिस्थितीमा म हाम्रा सवै नेपाली दाजुभाई दिदीबहिनीहरु तथा राजनैतिक दलका नेतृत्वतहमा रहेका ब्यक्तिहरुसंग के आग्रह गर्न चाहन्छु भने हामी नयां संविधानको निर्माणको लागि पुनः संविधानसभाको निर्वाचनको तयारीमा रहेको बेला हामीले हाम्रा मूख्य मुद्दाहरुमा ध्यान केन्दि्रत गर्नु जरुरी छ । त्यसैले हाम्रो मूख्य मुद्दाहरु अहिले मुलुकको भौतिक संरचनाको आधारहरु जस्तै बाटो निर्माण, विद्यालय भवन तथा अस्पतालहरुको निर्माण भन्दा पनि संविधान निर्माण नै हो, संविधान बनिसकेपछि भौतिक संरचनाको निर्माण र ब्यवस्थापनका विषयवस्तुहरु त स्वतः नै आइहाल्ने छन् । माथि उल्लेखित प्रश्नहरुका कुनै गलत र सहि उत्तरहरु हुँदैनन तर हामीले अब हुने भनिएको निर्वाचनको मतदान भन्दा अघि माथिका प्रश्नहरुको माध्यमबाट राजनीतिक दलहरुको स्पष्ट दृष्टिकोण बुझ्न अत्यन्त जरुरी छ ताकि हामीले अब कसलाई मतदान गर्ने भन्नेतर्फ सहि निर्णय लिन सकियोस ।
सवै राजनीतिक दलका नेतृत्वतहमा रहेका हाम्रा नेताहरुलाई पनि माथि उल्लेखित प्रश्नहरुका सम्बन्धमा स्पष्ट धारणा अघि सार्नुहुन म आग्रह गर्न चाहन्छु । अनुमान गरौं, तपाईको राजनीतिक दलले अबको निर्वाचनमा ८० प्रतिशत स्थान जित्नेछ र तपाईले चाहेको संविधान संविधान सभाबाट पारित गराउन सक्नुहुनेछ भने माथि उल्लेखित १२ प्रश्नहरुमा यहांको जवाफ के हुनेछ । यदी तपाईसंग माथिका एक दर्जन प्रश्नहरुको जवाफ छैन भने कृपया तपाईं आफ्नो दलका साथिहरुसंग छलफल गरी विचार विमर्श गर्नुहोस र निर्वाचनको मतदान हुनु अघि स्पष्ट धारणा लिएर आउनुहोस । अन्यथा गन्तब्य निश्चित नभएको सवारी सधानमा यात्रीलाई चढ्नको लागि आग्रह गरिएको जस्तै हुन्छ निर्वाचनमा मतदानको लागि गरिने आग्रह पनि । मलाई विश्वास छ, नयां संविधान बनाउने बर्षौंको पर्खाइपछि प्रारम्भ गरिएको मुलुकको शान्ति, सम्बृद्धि तथा प्रगतीको लागि नयां यात्राबाट पनि केहि नतिजा ननिस्केपछि नेपालीहरु माथि उल्लेखित प्रश्नहरुका सत्य र स्पष्ट जवाफ खोजिरहेका छन् । कृपया यहांले आफ्नो दृष्टिकोण सहितको जवाफ दिनुहोला । यदि उल्लेखित प्रश्नहरुमा यहांको जवाफप्रति सहमत हुन सक्यौं भने हामी एक कदम अघि बढेर यहांलाई समर्थन गर्ने छौं एउटा विश्वासका साथ कि अब मुलुकले नयां संविधान पाउनेछ ।
प्रजातन्त्रको मूख्य सौन्दर्य भनेको नै मुलुक कुनै ब्यक्तिको हुंदैन, सवैको हुन्छ । राजनीतिक नेतृत्वलाई चयन गार्दा जनताले निर्वाचनका दौरान गरिएका प्रतिज्ञाहरुलाई मनन गरेर नै आफ्नो मतको प्रयोग गर्दछन् । आज १२ बुंदे सम्झौता पछिको विगत बर्षहरुको सहयात्रापछि मुलुकको नेतृत्व सम्माननिय प्रधान न्यायाधिशले गरिरहनु भएकोछ भने हामी जनताहरु असमन्जसमा परेका छौं -वास्तवमा हाम्रा राजनीतिक नेतृत्वहरु के का लागि लडेका थिए त? मलाई विश्वास छ, हाम्रा दाजुभाइ दिदी बहिनीहरु अझै पनि अर्को चुनावको लागि पर्खेर बसिरहेका छन् तर जब तपाई राजनीतिक दलहरु हामीसंग मत माग्नको लागि आउँदा माथि उल्लेखित एक दर्जन प्रश्नहरुका जवाफ सहित आउनुहोला ताकि हाम्रो मुलुकको भविश्यको लागि के आधारमा कसलाई मतदान गर्ने भनेर निर्णय गर्न सकियोस । मुलुकको नेतृत्व राजनैतिक दलहरुले नै गर्नु पर्छ तर, प्रजातन्त्रमा नेपालका नागरिकहरुलाई मतदानको अधिकारको प्रयोग गर्ने मात्र होइन कि सही नेताको चुनाव गर्न पनि उल्लेखित १२ प्रश्नहरु नेतृत्व सामु उठाउनु जरुरी भएको छ, जसले मुलुकको अग्रगामी निकासको लागि एउटा भिजनरी नेतृत्वको चयन गर्न सकोस-ब्यक्तिगत वा दलगत ब्यानरको विच मात्रै निर्वाचन नहोस ।

No comments:

Post a Comment