Monday, April 1, 2013

लिगको अन्तिम खेलमा च्याम्पियन थ्रीस्टारको हार


१९ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिगको अन्तिम खेलमा च्याम्पियन थ्रीस्टारले हार व्यहोरेको छ । सोमबार भएको खेलमा आर्मीले लिग च्याम्पियन थ्रीस्टारलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । सरस्वतिसँगको हारबाट लिग सुरु गरेको थ्रीस्टारले हारमा नै लिग टुङ्ग्यायो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ३८ औं मिनेटमा सन्तोष नेपालले गोलबाट अग्रता दिलाएको थियो । खेलको ४९ औं मिनेटमा सन्तोष साहुखलले बराबरी गोल फर्काए । तर, ७३ औं मिनेटमा टेकबहादुर बढुथोकीले गोल गर्दै फेरि आर्मीलाई अग्रता दिलाए ।
८७ औं मिनेटमा सन्तोषले फेरि बराबरी गोल फर्काए । खेलको इन्जुरी टाइममा भरत खवासले गोल गरेपछि आर्मीले जितका साथ लिग अन्त्य गरेको हो ।
लिगमा दुई खेल खेल्नु अघि नै च्याम्पियन बनेको ललितपुर क्लब थ्रीस्टारले ७५ लाख रुपैयाँ हात पारेको छ । थ्रीस्टारले तेस्रो पटक लिग जितेको हो । उपविजेता मनाङले ४० लाख पाएको छ भने आर्मी तेस्रो भएको छ ।

No comments:

Post a Comment